काठमाडौँ। भारतको पश्चिमी राज्य राजस्थानमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
प्रहरीका अनुसार राजस्थानको कोटा जिल्लास्थित शम्भुपुरा गाउँनजिक तीव्र गतिमा रहेको यात्रुवाहक गाडी सडक किनारमा रोकिराखेको ट्रकमा ठोक्किँदा एकै परिवारका ९ जनाको मृत्यु भएको हो। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्।
राजस्थानको राजधानी जयपुरबाट करिब दुई सय ५० किलोमिटर दक्षिणमा भएको उक्त दुर्घटनामा गाडी नराम्ररी क्षतिग्रस्त हुँदा केही यात्रु भित्रै फसेका थिए।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।
यसैगरी, शनिबार साँझ जोधपुर जिल्लामा कार र यात्रुवाहक टेम्पो एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्।




