काठमाडौँ। बंगालको खाडीमा विकसित भइरहेको ‘अर्णव’ नामक चक्रवातको प्रभावले बिहीबारदेखि नेपालका विभिन्न प्रदेशमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार बंगालको खाडीमा रहेको अर्णव चक्रवात थप शक्तिशाली बन्दै जाने र क्रमशः अति शक्तिशाली चक्रवातमा विकसित हुने सम्भावना छ।
उक्त चक्रवात उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कार्तिक ११ गते (अक्टोबर २८) भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानम नजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ।
चक्रवातको प्रभावले कार्तिक १२ गते बिहीबारदेखि मौसम प्रभावित हुने र शुक्रबार तथा शनिबार यसको प्रभाव बढी देखिने महाशाखाले जनाएको छ। कार्तिक १३ र १४ गते कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको छ। वर्षाका कारण पहाडी तथा तराई क्षेत्रका विभिन्न स्थानमा जनजीवन प्रभावित हुन सक्ने, सडक छेउछाउ पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा असर पर्न सक्ने महाशाखाले जनाएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै किसानलाई बिहीबारअघि नै धानबाली भित्र्याउन तथा अन्य कृषि कार्य पूरा गर्न आग्रह गरिएको छ। उच्च हिमाली क्षेत्रमा जाने पर्यटकलाई यात्रा नगर्न र गइसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ।
चिसो बढ्न सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
महाशाखाले मौसमी प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्ने जनाएको छ। मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि विभागबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न आग्रह गरिएको छ।





