Skip to main content

Nidan Media

एनपीएल आजदेखि: साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। खेल साँझ ५ बजे शुरू हुनेछ।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिताका लागि आवश्यक तयारी लगभग पूरा भएको छ।

विजेतालाई एक करोड ५० लाख पुरस्कार

तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। यो अघिल्लो संस्करणको तुलनामा ४० लाख रुपैयाँ बढी हो। क्यानले आइतबार आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशि सार्वजनिक गरेको हो।

प्रतियोगितामा दोस्रो हुने टोलीले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसरी शीर्ष चार टोलीलाई कुल तीन करोड रुपैयाँ पुरस्कार वितरण गरिनेछ।

गत संस्करणमा लुम्बिनी लायन्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। त्यतिबेला विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो।

आठ टोलीबीच उपाधि प्रतिस्पर्धा

प्रतियोगितामा विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यसपटकको एनपीएलमा अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर र बंगलादेशका शाकिब अल हसनजस्ता चर्चित विदेशी खेलाडी सहभागी हुँदैछन्।

विदेशी खेलाडीको सहभागिता, निर्णय समीक्षा प्रणाली (डीआरएस) प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यताले यस संस्करणलाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

एक अर्ब ५० करोडको कारोबार हुने अनुमान

क्यानले यसपटक प्रतियोगिताबाट प्रायोजन, टिकट बिक्री र प्रसारण अधिकारलगायत माध्यमबाट आम्दानी बढ्ने अपेक्षा गरेको छ।

प्रतियोगिताको एक महिनाको अवधिमा कुल कारोबार एक अर्ब ५० करोड रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ।

यसैबीच, एनपीएल शुरू हुन लागेको अवसरमा प्रधानमन्त्री शाहले नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्।

उनले केही वर्षमै एनपीएल नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक र क्यानलाई शुभकामना दिएका हुन्।

‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि शुरू हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ,’ उनले लेखेका छन्, ‘लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्।’

तेस्रो संस्करणको एनपीएल नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.