धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट सुनसरीको बराहक्षेत्र-चतरातर्फ १५ जना यात्रु लिएर जाँदै गरेको ओबीएम कम्पनीको जेटबोट आइतबार अपराह्न करिब २ बजे ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी, सुनसरीको टोलीले उद्धार गरी चालकसहित १२ जनालाई उपचारका लागि चतरा अस्पताल पठाएको थियो। उपचारका क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका-१ की ५२ वर्षीया लिला राईसहित तीन जनाको मृत्यु भएको हो।
मृतकमध्ये एक बालिका ७ वर्षकी र एक पुरुष ५० वर्षका रहेको प्रहरीले जनाएको छ। उनीहरूको नामथर खुल्न बाँकी छ।
दुर्घटनामा झापाको कन्काई नगरपालिका-४ का सात वर्षीय शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका-१ की २१ वर्षीया प्रमिला मगर र २२ वर्षीया मनु राई बेपत्ता भएका छन्।
बेपत्ताको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा १४ जना प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर धनकुटाका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमाण्डमा १६ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ।
जेटबोटका चालक सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का २४ वर्षीय सुमन मगरसहित अन्य नौ जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





