काठमाडौँ। बाँकेको राप्तीसोनारी गाउँपालिका-१ सौरीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान दुई कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१-०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्ज जाँदै गरेको बा.प्र. ०१-०३० च ८४९६ नम्बरको कार ठोक्किएका हुन्।
प्रहरीका अनुसार दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका-५ घर भइ हाल काठमाडौँ बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाही गम्भीर घाइते भएका थिए। उपचारकै क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ।
घाइते चालक डोटीको साविक मुदेगाउँ गाविस-७ का ४५ वर्षीय नरेन्द्रबहादुर शाहीको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ।
त्यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका-७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा अर्को कारका चालक घोराही उपमहानगरपालिका-७ सौरियारका करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन। उनलाई इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका कारण अवरुद्ध भएको सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ।




