काठमाडौँ । बाढीपहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्डमा आवागमन प्रभावित भएको छ।
नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा आंशिक रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।
गोरखाको आरुघाट गाउँपालिकामा असोज २५ गते बिहान आएको बाढीले सडक सञ्जालमा क्षति पुर्याएको छ।
गाउँपालिकाका वडा नम्बर २, ३ र ९ को नयाँपुल क्षेत्रमा बाढीका कारण सोतीस्थित फलामे पुल तथा आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
नयाँपुलस्थित आरुघाट-धादिङ सडक खण्डमा भने हाल साना सवारीसाधन मात्र सञ्चालनमा आएका छन्।
त्यस्तै, सुर्खेतको बराहताल गाउँपालिका-७, औलिसेमा पहिरो खसेपछि अवरुद्ध भएको कर्णाली राजमार्ग अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको छ।





