Skip to main content

Nidan Media

विजयादशमीः सत्यको विजय र पारिवारिक एकताको पर्व, टीकाको उत्तम साइत कति बजे?

काठमाडौँ। नेपालीको प्रमुख चाड बडादशैँको मुख्य दिन विजयादशमी धार्मिक आस्था, पारिवारिक मिलन र सांस्कृतिक परम्पराको प्रतीक हो। आश्विनशुक्ल दशमीका दिन मनाइने यस पर्वमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। रोजगारी तथा अध्ययनका लागि घरबाहिर रहेका परिवारका सदस्यसमेत घर फर्किने भएकाले विजयादशमीलाई पारिवारिक भेटघाट र आत्मीयता साटासाट गर्ने विशेष अवसरका रूपमा लिइन्छ।

विजयादशमीलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयका रूपमा मनाउने धार्मिक मान्यता छ। पौराणिक कथाअनुसार देवी दुर्गाले महिषासुरको वध गरेको र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग यो पर्व जोडिएको छ। विजयादशमीले अन्याय, अहङ्कार र खराब प्रवृत्तिमाथि सत्य, सदाचार र सकारात्मक सोचको विजय हुने सन्देश दिनेछ।

यस वर्ष विजयादशमीका दिन बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको शुभसाइत रहेको छ। त्यसपछि बिहान १० बजेर २६ मिनेटमा विजयादशमीको टीका लगाउने उत्तम साइत रहेको छ।
टीका लगाउँदा लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने जनाइएको छ। त्यसैले टीका लगाउने समय मात्र होइन, टीका ग्रहण गर्दा फर्किने दिशालाई पनि ध्यान दिनुपर्नेछ।

विजयादशमीकै दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ। स्थिरासनको शुभसाइत दिवा ११ बजेर ५२ मिनेटमा रहेको छ। खड्गयात्रा पनि सोही दिन हुनेछ।

टीका र जमराको महत्व

विजयादशमीका दिन निधारमा टीका लगाएर कान वा शिरमा जमरा सिउरिने परम्परा छ। परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिइन्छ। यस अवसरमा दीर्घायु, सुख, शान्ति, समृद्धि र सफलताको कामना गरिन्छ।

टीका र जमरालाई शुभता, समृद्धि र आशीर्वादको प्रतीक मानिन्छ। घटस्थापनाका दिन शुद्ध माटोमा जौ छरेर उमारिएको जमरा विजयादशमीमा प्रसादका रूपमा ग्रहण गरिन्छ। मान्यजनले संस्कृतका श्लोक उच्चारण गर्दै परिवारका सदस्यको सुखद जीवन र उज्ज्वल भविष्यको कामना गर्ने चलन पनि छ।

पारिवारिक मिलन र सामाजिक सद्भाव

विजयादशमी धार्मिक अनुष्ठानमा मात्र सीमित छैन। यो टाढिएका आफन्तसँग भेटघाट गर्ने, परिवारसँग समय बिताउने र पुराना मनमुटाव हटाएर सम्बन्ध सुधार्ने अवसर पनि हो। टीका लगाउने र आशीर्वाद लिने परम्पराले पुस्ताबीचको सम्बन्ध बलियो बनाउनुका साथै ज्येष्ठ नागरिकप्रति सम्मान र श्रद्धा व्यक्त गर्न सिकाउँछ।

दशैँका अवसरमा नयाँ लुगा लगाउने, मीठा परिकार खाने र आफन्त तथा साथीभाइसँग खुसी साटासाट गर्ने चलन छ। गाउँघर फर्किने र परिवारसँगै पर्व मनाउने परम्पराले सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउँछ।

विजयादशमीले सत्य, सदाचार, आपसी सम्मान र एकताको महत्त्व स्मरण गराउँछ। धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको यस पर्वले परिवार तथा समाजमा प्रेम, सद्भाव र मेलमिलाप कायम राख्न प्रेरित गर्छ। यही कारण विजयादशमी नेपाली समाजमा धार्मिक र सामाजिक दुवै दृष्टिले महत्त्वपूर्ण पर्वका रूपमा स्थापित छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.