Skip to main content

Nidan Media

नवरात्रको नवौँ दिन: यस वर्ष दुई दिन महाअष्टमी

काठमाडौँ।यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने भएको छ। कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी परेको छ।

वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि दशैँ घर वा पूजा कोठामा नवदुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना र महाअष्टमीका अन्य कर्महरू दोहोर्‍याउनुपर्छ।

यद्यपि, आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै सम्पन्न भइसकेको पात्रोमा उल्लेख छ। यसपालि तिथि वृद्धिका कारण नवरात्र ‘दशरात्र’ बनेकाले विजयादशमीका दिन १० रात्रिको जमरा लगाइनेछ।

उता हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार राज्यका तर्फबाट हनुमानढोकामा गरिने १०८ पशु बलिसहितको मूल कालरात्रि पूजा भने कात्तिक २ गते सोमबार राति गरिनेछ। हनुमानढोकामा कात्तिक १ गते आइतबार महाअष्टमीको सामान्य पूजा सम्पन्न भइसकेको छ।

महानवमी पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरिन्छ। नवरात्रको नवौँ दिन दशैँघर तथा देशभरका देवी मन्दिर र शक्तिपीठमा विधिपूर्वक पूजाआजा गरी यो पर्व मनाउने परम्परा छ।

महानवमीका दिन घटस्थापनामा राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाइन्छ। यस दिन नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा गरिन्छ। दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्ने परम्परा पनि छ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले यस पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ। धार्मिक मान्यताअनुसार महानवमीले असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको सन्देश दिन्छ।

महानवमीका अवसरमा दशैँघर, कोत तथा विभिन्न शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको पूजा गर्ने चलन छ।

कतिपय स्थानमा पञ्चबलि दिने परम्परा पनि छ। पशुबलि नदिने तथा शाकाहारीहरूले भने कुभिण्डो, घिरौँला, मूला, काँक्रो र नरिवलजस्ता वस्तु चढाएर प्रतीकात्मक बलि दिने गर्छन्।

महानवमीमा देवीको प्रतीकका रूपमा कन्याको पूजा गरी दक्षिणा दिने चलन पनि छ। यस अवसरमा शक्तिपीठहरूमा पूजा आराधना तथा दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्छ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँसहित कोतपूजा र निशानापूजा गर्ने परम्परा छ। हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा गरिन्छ।

राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पसहित हनुमानढोका दरबारको मूलचोकमा महाअष्टमीको रात कालरात्रि पूजा गर्ने परम्परा छ। यस क्रममा ५४ बोका र ५४ राँगाको बलि दिइने चलन रहेको छ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मूल मन्दिर वर्षमा एक पटक महानवमीका दिन सर्वसाधारणका लागि खुला गरिन्छ। यस दिन भक्तजनले तलेजु भवानीको दर्शन गर्ने अवसर पाउँछन्।

तलेजु भवानीलाई फूलपातीका दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याउने र विजयादशमीको बिहान मूल मन्दिरमा फर्काउने परम्परा रहेको छ।

धार्मिक आस्था, शक्ति आराधना र परम्परासँग जोडिएको महानवमी बडादशैँको महत्त्वपूर्ण दिन हो। यस दिन गरिने विशेष पूजा, कन्या पूजा, बलि तथा विभिन्न धार्मिक अनुष्ठानले नेपाली समाजमा प्रचलित सांस्कृतिक र धार्मिक परम्परालाई निरन्तरता दिँदै आएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.