काठमाडौँ । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदै छ। हिन्दू धर्मशास्त्रअनुसार गाईमा सम्पूर्ण देवीदेवताको बास हुने र गाई साक्षात् लक्ष्मीको प्रतीक भएकाले गौमाताका रूपमा पूजा गर्ने परम्परा छ।
फूलमाला, टीका र विभिन्न परिकार खुवाएर गाईको पूजा गरिन्छ। गाईको दूध, दही, घिउ, गोबर र गहुँत धार्मिक तथा सांस्कृतिक कार्यमा प्रयोग हुने भएकाले यसको विशेष महत्त्व रहेको छ।
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालका अनुसार गाईलाई देवीदेवताको निवास र पृथ्वी माताका रूपमा सम्मान गरिन्छ। मानिसको पालनपोषणमा गाईले पुर्याउने योगदानका कारण यसको संरक्षण र सम्मान आवश्यक रहेको उनले बताए।
धार्मिक मान्यताअनुसार गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सकिने विश्वास छ। साउन शुक्ल पूर्णिमाका दिन बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि गाईले वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीमा धार्मिक कार्यका अवसरमा गाईदान गर्ने परम्परा रहेको छ। पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढेको धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतमले बताए। गाईलाई सम्मानका साथ नेपालको राष्ट्रिय जनावरका रूपमा समेत राखिएको छ।
नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ। यस वर्ष तिथिको संयोगले गाईपूजा र लक्ष्मीपूजाको दिन फरक परेको उपप्राध्यापक ढकालले बताए।
लक्ष्मीपूजाको भोलिपल्ट सोमवती औँसी परेको र त्यस दिन मौन स्नान गर्दा लाखौँ गाई दान गरेसरह फल प्राप्त हुने धार्मिक विश्वास रहेको उनले उल्लेख गरे।





