पोखरा। पोखरामा स्कुटरको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको ज्यान गएको छ।
मृत्यु हुनेमा उदयपुरको रौतामाई गाउँपालिका वडा नं ७ घर भइ हाल पोखरा महानगरपालिका-३२ मझुवा बस्दै आएका ५४ वर्षीय विष्णु आले छन्।
नेपाल प्रहरीकाअनुसार कात्तिक १४ गते साँझ पोखरा-३२ धर्मकाटास्थित पृथ्वी राजमार्गमा पैदलयात्रा गर्दै गरेका आलेलाई ग १२ प ५८२५ नम्बरको स्कुटरले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकामा आलेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दै गर्दा चिकित्सकले बुधबार मृत घोषणा गरेका हुन्।
दुर्घटनामा स्कुटर चालक तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौँडाकी २८ वर्षीया सृष्टि तिमिल्सिनासमेत घाइते भएको उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
यता, देशका विभिन्न जिल्लामा भएका १३ ओटा सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल, स्कुटर, जिप, ट्रक, ट्याक्टर र कार संलग्न रहेका छन्। मृत्यु हुनेमा पैदलयात्री, मोटरसाइकल तथा स्कुटरमा सवार र जिपमा यात्रा गरिरहेका व्यक्ति छन्।
झापाको दमक नगरपालिका-९ स्थित पश्चिम राजमार्गमा स्कुल बुधबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार २१ वर्षीया माङकुमारी लिम्बुको मृत्यु भएको छ।
यसअघि सोमबार पनि मेचीनगर नगरपालिका-११ मा मोटरसाइकल र स्कुटर ठोक्किँदा घाइते भएका ६३ वर्षीय केदार खतिवडाको उपचारका क्रममा मृत्यु भएको थियो।
उदयपुरको त्रियुगा नगरपालिका-४ मा मोटरसाइकलको ठक्करबाट घाइते भएका ६७ वर्षीय सोमबहादुर तामाङको कात्तिक १८ गते उपचारका क्रममा मृत्यु भएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका-१० स्थित कोशी लोकमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा घाइते भएका तेह्रथुमका ३५ वर्षीय धनराज लिम्बुको पनि मृत्यु भएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका-२ मा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका ४५ वर्षीय विष्णुदेव चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित जलबिरे झरनाबाट फर्कने क्रममा भारतीय नागरिक ४१ वर्षीय सायन्तन गायेन सवार कार खोलामा खस्दा उनको मृत्यु भएको छ।
कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी ७० वर्षीया टीका पौडेलको पनि मृत्यु भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिकाऔ२ मा मोटरसाइकललाई पिकअप गाडीले ठक्कर दिँदा घाइते भएका ५८ वर्षीय हिमबहादुर डाँगीको मृत्यु भएको छ।
रुपन्देहीको मायादेवी गाउँपालिका-७ मा दुई मोटरसाइकल ठोक्किँदा घाइते भएका ७२ वर्षीय सुरेशप्रसाद चाईको उपचारका क्रममा मृत्यु भएको छ।
बझाङको केदारस्युँ गाउँपालिका-७ मा जीपको ब्रेक फेल भई दुर्घटना हुँदा २७ वर्षीया पबिता धामी र ४० वर्षीय गोपाल धामीको घटनास्थलमै मृत्यु भएको छ। जीपमा चालकसहित १२ जना सवार थिए।
कञ्चनपुरको बेदकोट नगरपालिका-१ मा स्कुटरको ठक्करबाट घाइते भएकी ७० वर्षीया प्रमा देवी बोहरा भन्ने मंगली बोहराको उपचारका क्रममा मृत्यु भएको छ।
यस्तै, बैतडीको मेलौली नगरपालिका-१ मा जीप सडकबाट करिब ३५ मिटर तल खस्दा घाइते भएकी ३५ वर्षीया सुना मंगोलाको उपचारका क्रममा मृत्यु भएको छ।





