काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ ।
अन्तिम मतपरिणामअनुसार खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी भएका छन् । समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन् ।
त्यस्तै, खुला महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर राणा विजयी भएका छन् । महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन् ।
खुलातर्फ उपसभापतिका दुई पदका लागि भएको प्रतिस्पर्धामा भण्डारीले सर्वाधिक तीन हजार ७३५ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका आचार्यले दुई हजार ३४२ मत ल्याउँदै विजयी भए ।
उपसभापतिका अन्य प्रतिस्पर्धी गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे ।
समावेशीतर्फ उपसभापतिको एक पदमा विनोदकुमार चौधरी विजयी भएका छन् । उनले एक हजार ७४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८ मत पाए ।
त्यस्तै, फरमुल्लाह मन्सुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे ।
खुलातर्फ महामन्त्रीका दुई पदमा प्रदीप पौडेल र उदय शमशेर राणा विजयी भएका छन् । पौडेलले सर्वाधिक चार हजार १९४ मत प्राप्त गर्दा राणाले दुई हजार ३३० मत पाए ।
महामन्त्रीका प्रतिस्पर्धी डा. सुनीलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुन मगरले एक हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे ।
महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन् । उनले तीन हजार ११८ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले दुई हजार ८६४ मत पाइन् । तेस्रो स्थानमा रहेकी रीता खनालले ८०४ मत प्राप्त गरिन् ।





