पोखरा । दिवंगत पितृहरूको सम्झनामा पोखरा-१५, मजुवास्थित पोखरा गौशालामा शनिबार पितृ विसर्जन तथा खिर वितरण कार्यक्रम सम्पन्न भएको छ ।
हरि ॐ गुरु लक्ष्मण पौडेल, चक्रपाणि दाहाल र सरस्वती दाहालको संयोजकत्वमा आयोजित कार्यक्रममा पितृहरूको सम्झनामा गौसेवा गरिएको थियो । कार्यक्रममा उपस्थित आगन्तुकलाई खिरसमेत वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा दाहाल सेवा समाज नेपालकी कार्यवाहक अध्यक्ष सरस्वती दाहालले पितृहरूको नाममा गौमाताको सेवा गर्नु नै सबैभन्दा ठूलो श्राद्ध भएको बताइन् ।
“आफ्ना पितृहरूको नाममा गौमाताको सेवा गर्नु नै सबैभन्दा ठूलो श्राद्ध हो । गौशालामा छाडा छोडिएका १२१ गाईलाई आफ्नै सन्तानजस्तै माया गरेर पाल्नु नै सच्चा पितृभक्ति हो,” उनले भनिन् ।
विशेष अतिथि हरि ॐ गुरु लक्ष्मण पौडेलले गाईलाई विश्वकै माता मान्ने धार्मिक मान्यताको चर्चा गर्दै गौसेवालाई वर्षभरि निरन्तरता दिनुपर्नेमा जोड दिए । गौमाताको सेवामार्फत धार्मिक आस्था र जीवप्रतिको करुणाभाव अभिव्यक्त गर्न सकिने उनको भनाइ थियो ।
पोखरा गौशाला (गौ आश्रम) ले पितृकार्य, जन्मोत्सव तथा वार्षिकोत्सवका अवसरमा गौसेवामूलक कार्यक्रम आयोजना गर्न सकिने जनाएको छ ।
गौशालामा आश्रय लिइरहेका गाईको संरक्षण र पालनपोषणमा सहयोग गर्नसमेत आयोजकले आग्रह गरेको छ ।




