गोरखा । बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएपछि गोरखाको आरुघाट बजार खाली गराइएको छ।
बाढीको जोखिम बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने उद्धार, राहत र प्रभावितलाई स्थानान्तरण गर्न हेलिकप्टरसमेत परिचालन गरिएको छ। बाढीले विभिन्न स्थानका पुल बगाउनुका साथै घरमा क्षति पुर्याएको र निर्माणाधीन जलविद्युत् आयोजनाको क्याम्पसमेत बगाएको छ।
आरुघाट बजार खाली, तटीय बस्ती जोखिममा
बूढीगण्डकी नदीको बहाव बढ्दै गएपछि आरुघाट बजारसहित तटीय क्षेत्रका बस्तीमा जोखिम बढेको हो। सम्भावित क्षतिलाई ध्यानमा राख्दै स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घर जोखिममा रहेको प्रहरीले जनाएको छ।
बाढीले आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे पुल बगाएको छ। त्यस्तै, चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।
घरमा बाढी पस्यो, पुल र बस्तीमा क्षति
चुमनुब्री गाउँपालिका-३ को सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बाढीले बगाएको छ भने अर्को घरमा बाढी पसेको छ। यसैगरी, धार्चे गाउँपालिका-५ मा माछाखोलाबाट केरौंजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।
माछाखोलाको तल्लो बस्तीका पाँचदेखि सातवटा घर र त्यति नै सङ्ख्यामा रहेका टहरामा बाढी पसेको प्रहरीले जनाएको छ। घट्टेखोला क्षेत्रमा समेत केही घरमा लेदोसहितको पानी पसेको छ। नदीको बहाव निरन्तर बढिरहेको बताइएको छ।
जलविद्युत् आयोजनाको क्याम्प र उपकरण बगायो
बाढीले चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा निर्माणाधीन ३४१ मेगावाट क्षमताको अर्धजलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगाएको छ। क्याम्पसँगै केही उपकरणसमेत बगाएको जनाइएको छ। उक्त आयोजना निर्माणका लागि ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।
उद्धारका लागि हेलिकप्टर, गृहमन्त्रीद्वारा सतर्क रहन आग्रह
गृहमन्त्री सुधन गुरुङले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको जानकारी दिएका छन्। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय प्रशासनलाई उद्धार र राहत कार्यमा परिचालन गरिएको उनले बताएका छन्।
गृहमन्त्री गुरुङले बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। बाढीको जोखिम रहेका क्षेत्रमा नबस्न तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।
आपत्कालीन अवस्था वा उद्धारसम्बन्धी सहयोग आवश्यक परे गृह मन्त्रालयको टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न गृहमन्त्री गुरुङले आग्रह गरेका छन्। उनी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन त्यसतर्फ जाने तयारीमा रहेको समाचारमा उल्लेख छ।




