काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका-३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बूढीगण्डकी नदीको बाढीले बगाएपछि उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालन गरिएको छ।
नदीको बहाव निरन्तर बढिरहेको र घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको बाढी पसेपछि सम्भावित जोखिमबाट नागरिकलाई सुरक्षित राख्न उद्धार टोली परिचालन गरिएको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय प्रशासनको समन्वयमा उद्धार, राहत तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम अघि बढाइएको छ।
बूढीगण्डकी नदीको बहाव बढ्दै गएकाले नदी किनार र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान मन्त्रालयले आग्रह गरेको छ।
जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।
बाढी प्रभावित क्षेत्रका नागरिकलाई धैर्य राख्दै आफ्नो सुरक्षालाई प्राथमिकता दिन मन्त्रालयले आग्रह गरेको छ।
सम्भावित जोखिमबाट बच्न नदीको बहाव हेर्न वा बाढी प्रभावित क्षेत्रतर्फ जान नहुने र सुरक्षित स्थानमा रहनुपर्नेमा जोड दिइएको छ।
आपत्कालीन अवस्थामा आवश्यक सहयोगका लागि गृह मन्त्रालयको हेल्पलाइन १२३४ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।




