काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहँदा देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो कोशी प्रदेशका सबै भूभाग तथा देशका अन्य पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। तराईका क्षेत्रमा भने आंशिक बदली रहने अनुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा पनि वर्षा हुन सक्नेछ। कोशी प्रदेशको तराई क्षेत्रमा समेत मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ। तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्नेछ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।





