पोखरा। पोखरा महानगरपालिका वडा नं २८ कालिकास्थानस्थित ओख्लेमा स्कुल बस सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको छ।
दुर्घटना स्थलबाट १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गरेको ग२ख १४१७ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनालगत्तै नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए।
कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र पासवानका अनुसार उद्धार गरिएका १८ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।
तीमध्ये १६ जना अस्पताल पुगिसकेका छन् भने दुई जना अस्पताल जाने क्रममा रहेको उनले बताए।
बसमा कति जना विद्यार्थी सवार थिए भन्ने यकिन विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ। उद्धार कार्य जारी रहेकाले घाइतेको अवस्था र दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी छ।





