Skip to main content

Nidan Media

कांग्रेस महाधिवेशन : शुक्रबार बिहान ७ बजेदेखि मतदान, प्रतिनिधिको थप बसाइँ खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहान ७ बजेदेखि शुरू हुने भएको छ।

खराब मौसम, प्राविधिक कारण तथा उम्मेद्वार र मतदाताको संख्या धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएपछि बिहीबार हुने भनिएको मतदान शुक्रबारका लागि सारिएको हो।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदान शुक्रबार बिहान ७ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने जानकारी दिए।

साँझबाट मतदान शुरू गर्दा रातिसम्म मतदान गर्नुपर्ने र प्रतिनिधिलाई असहज हुने भएकाले बिहानदेखि मतदान गर्ने निर्णय गरिएको उनले बताए।

महाधिवेशनमा सात हजार ३१७ जना प्रतिनिधि रहेकोमा सात हजार २५५ जनाले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि आवश्यक तयारी पूरा भएको बताए। उनका अनुसार मतपत्रको संख्या धेरै भएकाले ३२ जना वरिष्ठ अधिवक्ताले मतपत्रमा हस्ताक्षर गरिरहेका छन्।

प्रतिनिधिको सहजताका लागि विभिन्न स्थानमा मतदान केन्द्र तोकिएको छ। राष्ट्रिय सभा गृहको मतदान केन्द्र ‘क’ मा बागमती, खुलामञ्चको ‘ख’ केन्द्रमा कोशी तथा तराई-मधेस समूह, हिमाल हलमा गण्डकी, तराई-मधेस हलमा मधेस तथा पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थाका प्रतिनिधिले मतदान गर्नेछन्।

मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। निर्वाचन समितिले तोकेको रुजु प्रक्रिया पूरा गरेपछि मात्रै मतदान गर्न पाइनेछ।

मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने समितिले जनाएको छ। मतदान सकिएपछि मतपेटिका सुरक्षित व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना शुरू गरिनेछ।

महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको होटल बसाइँ र खानाको खर्च पार्टीले नै व्यहोर्ने भएको छ।

आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले निर्वाचन प्रक्रिया एक दिन लम्बिएकाले प्रतिनिधिलाई थप आर्थिक भार नपर्ने गरी पार्टीले आवश्यक व्यवस्था गर्ने बताए।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता, दाबी-विरोध र उम्मेद्वारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ।

अब सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्यका लागि मतदान हुनेछ।

महाधिवेशनबाट विधान संशोधन गरी केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाइएको छ। शुक्रबारको मतदान र त्यसपछि हुने मतगणनाबाट कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.