काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानको समय सरेको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि शुरू हुने भनिएको मतदान अब दिउँसो १ बजेदेखि शुरू हुनेछ।
महाधिवेशनको पाँचौँ दिन हुन लागेको मतदानमा सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयन हुनेछन्।
अन्तिम नामावलीअनुसार सभापतिमा गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन्।
खुला उपसभापतिका लागि गोविन्द भट्टराई, डा. चन्द्रकान्त भण्डारी, प्रा.डा. चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरुङ, ई. मधु आचार्य र सुरेन्द्रराज पाण्डे प्रतिस्पर्धामा छन्। समावेशी उपसभापतिमा जीवन परियार, फरमुल्लाह मंसुर, बिनोदकुमार चौधरी, रञ्जित कर्ण र सीता गुरुङ उम्मेदवार छन्।
महामन्त्रीका लागि खुलातर्फ अमरसिंह पुन मगर, उदयशमशेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, शंकर तिवारी, डा. सन्तोष उपाध्याय र डा. सुनिलकुमार शर्मा प्रतिस्पर्धामा छन्। महिला महामन्त्रीमा डा. डीला संग्रौला (पन्त), महालक्ष्मी उपाध्याय (डीना) र रीता खनाल उम्मेद्वार छन्।
यसपटक कांग्रेसको केन्द्रीय निर्वाचनमा ५८ पदका ८११ उम्मेद्वार अन्तिम नामावलीमा छन्। निर्वाचन समितिले मतदानमा सात हजार २५५ प्रतिनिधि सहभागी हुने जनाएको छ।
मतदानबाट कांग्रेसको नयाँ सभापतिसहित केन्द्रीय कार्यसमिति चयन हुनेछ। सभापति पदमा दुई उम्मेद्वार रहेकाले पहिलो चरणमै कुनै उम्मेदवारले आवश्यक बहुमत नल्याए निर्वाचन प्रक्रिया थप अघि बढ्नेछ।
नयाँ नेतृत्व चयनका लागि हुने मतदानले कांग्रेसको आगामी राजनीतिक दिशा र संगठनात्मक नेतृत्वको संरचनासमेत निर्धारण गर्नेछ।




