काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चौथो दिन आज नयाँ नेतृत्वका लागि भएको उम्मेदवारी दर्ताको अन्तिम तस्वीर प्रस्ट हुँदैछ।
मंगलबार उम्मेद्वारी दर्ता सकिएसँगै सभापतिसहित प्रमुख पदमा प्रतिस्पर्धीको संख्या सार्वजनिक भएको छ भने आज उम्मेद्वारी फिर्ता र सच्याउने समय सकिएपछि नेतृत्वको वास्तविक प्रतिस्पर्धाको चित्र अझ स्पष्ट हुनेछ।
महाधिवेशनमा सभापति पदमा गगन थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन्।
महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेकाले उनी पनि निर्विरोध भएकी छन्। यसले शीर्ष नेतृत्वका केही पदमा प्रतिस्पर्धा सीमित भए पनि खुला पदमा भने कांग्रेसभित्रको शक्ति परीक्षण तीव्र हुने संकेत गरेको छ।
खुला उपसभापतिमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव गरी नौ जना मैदानमा छन्। समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रन्जित कर्णबीच प्रतिस्पर्धा हुने भएको छ।
महामन्त्रीतर्फ पनि प्रतिस्पर्धा थप रोचक देखिएको छ। खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्याय गरी आठ जना उम्मेदवार छन्। महिला महामन्त्रीमा डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनाल प्रतिस्पर्धामा छन्।
निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारी फिर्ता वा सच्याउन सकिनेछ। त्यसपछि अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ। दिनभर उम्मेदवारलाई प्रचारप्रसारको समय दिइने भएकाले आजदेखि महाधिवेशनको चुनावी गतिविधि थप तीव्र हुने देखिन्छ।
विधान संशोधनपछि कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति २५ पदाधिकारीसहित २९७ सदस्यीय हुने भएको छ। त्यसैले अहिले देखिएको ३० पदाधिकारीको उम्मेदवारीले केवल व्यक्तिगत प्रतिस्पर्धा मात्र नभई कांग्रेसभित्रको नयाँ नेतृत्व संरचना, शक्ति सन्तुलन र आगामी राजनीतिक दिशाको संकेतसमेत दिनेछ।
विशेषगरी सभापति, खुला उपसभापति र महामन्त्री पदमा हुने प्रतिस्पर्धाले महाधिवेशनको समग्र राजनीतिक सन्देश निर्धारण गर्ने देखिन्छ।





