काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश अध्यक्ष पदमा अर्जुन खनालले उम्मेद्वारी घोषणा गरेका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गरेका खनालले बदलिँदो राजनीतिक परिस्थिति र नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टीको संगठनलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन्।
देशको वर्तमान राजनीतिक परिस्थिति, बदलिँदो सामाजिक चेतना र समयको मागलाई आत्मसात् गर्दै आफूले प्रदेश अध्यक्षमा उम्मेदवारी दिएको खनालले बताएका छन्।
परम्परागत राजनीतिक शैलीप्रति बढ्दो प्रश्न, युवापुस्ताको जागरण र जनतामा देखिएको परिवर्तनको चाहनालाई राजनीतिक दलले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ।
खनालले राप्रपा गण्डकीलाई संगठित, सक्रिय, अनुशासित, प्रविधिमैत्री र परिणाममुखी संगठनका रूपमा विकास गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्।
युवालाई सहभागितामा मात्र सीमित नराखी नीति, नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण जिम्मेवारी दिने तथा अग्रजहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई एकीकृत गर्ने उनको योजना छ।
वर्षभरि नै जनतासँग जोडिएको संगठन निर्माण गर्ने र आधुनिक प्रविधि तथा डिजिटल माध्यमको प्रभावकारी प्रयोगमार्फत संगठनलाई थप गतिशील बनाउने उनले बताए।
प्रतिक्रियामा आधारित राजनीतिको सट्टा ‘प्रोएक्टिभ पोलिटिक्स’मार्फत समयका मुद्दा पहिचान गर्ने, स्पष्ट दृष्टिकोणसहित एजेन्डा निर्माण गर्ने र समाधानमुखी योजनालाई राष्ट्रिय बहसमा स्थापित गर्ने उनको प्रतिबद्धता छ।
गण्डकीका पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्पदा, कृषि, रोजगारी, उद्यमशीलता, युवा पलायन र सुशासनका विषयलाई प्राथमिकतामा राखेर स्पष्ट नीति, एजेन्डा र कार्ययोजना निर्माण गर्ने खनालले बताए। गण्डकीबाट राष्ट्रिय स्तरको राजनीतिक बहस र प्रभाव सिर्जना गर्ने आफ्नो संकल्प रहेको उनले बताए।
‘बलियो संगठन नै बलियो पार्टीको आधार हो’ भन्ने मान्यतासहित पदलाई प्रतिष्ठाभन्दा बढी जिम्मेवारीका रूपमा ग्रहण गर्ने उनले स्पष्ट पारे।
व्यक्तिगत स्वार्थभन्दा संगठनको हित, नाराभन्दा कार्ययोजना र कार्यक्रमभन्दा परिणामलाई प्राथमिकता दिने उनको प्रतिबद्धता छ।
राप्रपाको विचार, सिद्धान्त र राजनीतिक पहिचानलाई समयानुकूल संगठनात्मक क्षमता, आधुनिक प्रविधि र नयाँ पुस्ताको ऊर्जासँग जोड्दै गण्डकीलाई पार्टीको सुदृढ र सक्रिय संगठनको आधारभूमि बनाउने खनालको योजना छ।
खनालले पार्टीका अग्रज नेतृत्व, जिल्ला तथा स्थानीय तहका नेता-कार्यकर्ता, युवा पुस्ता, शुभेच्छुक तथा राष्ट्रवादी साथीहरूसँग सल्लाह, सुझाव, सहयोग, सद्भाव र विश्वासका लागि अपील गरेका छन्।





