नवलपरासी। नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित पूर्व-पश्चिम राजमार्गको एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३-०१-००६ ख १५५३ नम्बरको बस एस मोडमा दुर्घटना भएर सडकबाट नालामा खसेको हो।
बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु, १० जना घाइते र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमध्ये जाजरकोटको भेरी नगरपालिका-३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। बाँकी पाँच मृतकको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा गोरखा नगरपालिका-९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन नगरपालिका-६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा नगरपालिका-१ की २० वर्षीया आकृती, बाजुरा स्वामीकार्तिक गाउँपालिका-५ का ३२ वर्षीय पवन बुढा, बर्दिया राजापुर नगरपालिका-९ का २८ वर्षीय सञ्जय थारु, बाजुरा स्वामीकार्तिक गाउँपालिका-१ का २५ वर्षीय प्रेम बम, ललितपुर कुञ्जय सोमपाक गाउँपालिका-५ का २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी नगरपालिका-७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँके नेपालगञ्ज उपमहानगरपालिका-१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यान वनगाड कुपिण्डे नगरपालिका-१ का २१ वर्षीय अनिल बुढाथोकी रहेका छन्।
दुर्घटनापछि प्रहरीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




