पोखरा। पोखरा महानगरपालिकाले नगर ऊर्जा योजनाअनुसार महानगरका २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्होको पहुँच पुर्याउने अभियान शुरू गर्ने भएको छ। अभियानअन्तर्गत सोमबारदेखि पोखरा-२२ बाट नगरवासीलाई निःशुल्क इन्डक्सन चुल्हो वितरण गरिने भएको हो।
नगर प्रमुख धनराज आचार्यका अनुसार पहिलो चरणमा पोखरा-२२ का करिब दुई सय परिवारलाई इन्डक्सन चुल्हो वितरण गरिनेछ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा पोखरा-२२ का कालाबाङ, भूम्दीलगायत पाँच ओटा टोलका घरधुरीलाई चुल्हो वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष हिमलाल बरालले जानकारी दिए। उनका अनुसार अभियानअन्तर्गत वडामा दुई हजारभन्दा बढी चुल्हो वितरण गर्ने लक्ष्य छ।
खाना पकाउने ग्यासको अभाव तथा मूल्यवृद्धिका कारण उपभोक्ता प्रभावित भइरहेका बेला विद्युतीय चुल्होको प्रयोगले नगरवासीलाई राहत पुग्ने महानगरको विश्वास छ। महानगरले सन् २०२९ सम्म २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्होको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विन्डपावर नेपाल र युरोपियन युनियनको सहयोगमा पोखरा महानगरपालिकाको सहरी योजना आयोगले नगर ऊर्जा योजना तयार गरेको हो।
महानगरले विसं २१०० अर्थात् सन् २०४३ सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्यसमेत लिएको छ।
नगर ऊर्जा योजनाअनुसार पोखरामा खाना पकाउन प्रयोग हुने इन्धनमध्ये एलपीजीको हिस्सा ८४.२५ प्रतिशत छ। बायोग्यास ५.२५ प्रतिशत, काठ–दाउरा १०.२७ प्रतिशत र विद्युतको हिस्सा ०.२३ प्रतिशत मात्रै छ।
घरायसी क्षेत्रमा एलपीजीको निर्भरता ९८.४५ प्रतिशत रहेकाले विद्युतीय चुल्होको प्रयोग विस्तारलाई ऊर्जा रूपान्तरणको महत्वपूर्ण अभियानका रूपमा लिइएको छ।





