नुवाकोट। नुवाकोटको शिवपुरी गाउँपालिका-७ थानाभञ्ज्याङमा बसले पार्किङ गरेर राखिएको ईभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
शनिबार बिहान बा.प्र.०८-१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखेको बा.प्र.३-००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र ईभी भ्यान सडकबाट करिब ३०/४० मिटर तल भिरमा खसेका थिए ।
दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौँस्थित ग्रीनसिटी अस्पताल ल्याइएको थियो ।
अस्पताल पुर्याएलगत्तै दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ की करिब ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका-२ की करिब ६५ वर्षीया उदयमाया खत्री रहेका छन् ।
घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका-९ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका-६ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ रहेका छन् ।
तीनै जनाको ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





