Nidan Media

८०औँ स्वतन्त्रता दिवस मनाउँदै भारत

नयाँदिल्ली । भारतले आज ८०औँ स्वतन्त्रता दिवस मनाउँदैछ। सन् १९४७ अगस्ट १५ मा बेलायती शासनबाट स्वतन्त्र भएको भारतले हरेक वर्ष अगस्ट १५ लाई स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ। यस वर्ष भारतले स्वतन्त्रताको ७९ वर्ष पूरा गरेको छ भने स्वतन्त्रता दिवसको ८०औँ समारोह मनाएको हो।

राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक लालकिल्लामा आयोजित मुख्य समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रका नाममा सम्बोधन गरेका छन्। यो लालकिल्लाबाट मोदीले गरेको लगातार १३औँ स्वतन्त्रता दिवस सम्बोधन हो।

यस वर्षको समारोहमा युवा शक्तिलाई विशेष प्राथमिकता दिइएको छ। भारतलाई सन् २०४७ सम्म विकसित राष्ट्र बनाउने लक्ष्यअन्तर्गत युवाको भूमिका, क्षमता र योगदानलाई केन्द्रमा राखिएको छ। समारोहको अर्को महत्वपूर्ण पक्षका रूपमा राष्ट्रिय गीत ‘वन्दे मातरम्’लाई लालकिल्लामा पहिलोपटक प्रस्तुत गरिएको छ।

प्रधानमन्त्री मोदीले सम्बोधनका क्रममा स्वतन्त्रता आन्दोलनका सेनानीहरूको योगदान र बलिदानको स्मरण गर्दै विकसित भारत निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। उनले सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यलाई पुनः जोड दिएका छन्।

स्वतन्त्रता दिवसका अवसरमा भारतभर राष्ट्रिय झण्डा फहराउने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तथा स्वतन्त्रता आन्दोलनका सहिद र सेनानीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम भइरहेका छन्। यस अवसरमा भारतका विभिन्न सहरमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.