काठमाडौँ । कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई सय ६५ पुगेको छ ।
राष्ट्रपति अबेलार्डो दे ला एस्प्रिएल्लाका अनुसार भूकम्पमा करिब पाँच सय जना अझै बेपत्ता छन् भने तीन हजार सात सयभन्दा बढी घाइते भएका छन् ।
पश्चिमी कोलम्बियाका विभिन्न सहर प्रभावित हुने गरी गएको ७.४ रेक्टरस्केलको भूकम्पले काली, पेरेरा, मनिजालेस र क्विब्दोसहितका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
भूकम्पका कारण कालीस्थित ‘टोरेस डेल लिमोनार’ आवासीय भवनसमेत भत्किएको छ । भग्नावशेषमा मानिस पुरिएपछि उद्धारकर्मीले निरन्तर खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन् ।
भूकम्पपछि जीवित व्यक्तिको खोजीलाई प्राथमिकता दिँदै उद्धार टोलीले भग्नावशेषबाट कम्तीमा आठ जनालाई जीवितै उद्धार गरेको जनाइएको छ ।
उद्धारको महत्वपूर्ण ७२ घण्टे अवधि पार हुँदै जाँदा टोलीले बेपत्ताको खोजीसँगै मृतकको शव निकाल्ने कामलाई पनि तीव्रता दिएको छ ।
भूकम्पबाट नौ हजार पाँच सयभन्दा बढी घर ध्वस्त भएका छन् भने २५ हजार आठ सयभन्दा बढी परिवार प्रभावित भएका छन् । दुर्गम क्षेत्रमा सडक तथा सञ्चार सम्पर्कमा क्षति पुगेकाले उद्धार र राहतमा कठिनाइ भइरहेको छ ।
सरकारले प्रभावित क्षेत्रमा राहत, अस्थायी आश्रय र पुनर्निर्माणको काम अघि बढाएको छ। उद्धारकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवक बेपत्ताको खोजीमा खटिएका छन् ।
भूकम्पपछि परकम्पनसमेत भइरहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।





