म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित घारा हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ५ः१० बजे हाइड्रोपावरमा माथिबाट ढुंगासहितको पहिरो खसेको थियो।
पहिरोमा परी हाइड्रोपावरमा ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका-६ का अन्दाजी ५५ वर्षीय दिपक बरुवाल बेपत्ता भएका हुन्।
पहिरोबाट खसेको ढुंगा लागेर हाइड्रोपावरमा काम गर्न जाने क्रममा गौरीगंगा नगरपालिका-५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्। उनको दाहिने हात र दुवै खुट्टामा चोट लागेको छ।
घाइते विकको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ।
बेपत्ता बरुवालको खोजीका लागि भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक मोहन गुरुङको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ।





