काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई मुलुकको विकासको अभिन्न साझेदारका रूपमा हेर्ने बताएका छन्।
नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको बताए।
आर्थिक विकास कुनै एक मन्त्रालय वा सरकारको एकल प्रयासबाट सम्भव नहुने भन्दै उनले सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक रहेको उल्लेख गरे।
उद्योगले कमाएको नाफा पुनरलगानी हुने र त्यसबाट रोजगारी तथा आम्दानी सिर्जना भई राज्यको राजस्वमा योगदान पुग्ने भन्दै उनले निजी क्षेत्र र सरकारबीचको सम्बन्ध परिपूरक रहेको बताए। वैध रूपमा गरिएको लगानी र आर्जित मुनाफाको सुरक्षा गर्ने जिम्मेवारी सरकारको रहेको उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले उद्यमीहरूलाई नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न आग्रह गरे।
सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि विगतका समस्या सच्याउँदै विशेष छुट तथा सुविधा घोषणा गरेको पनि उनले बताए।
छलफलमा व्यवसायीहरूले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा, श्रम, पूर्वाधार तथा कानुनी प्रक्रियामा रहेका समस्याबारे सुझाव दिएका थिए। अर्थमन्त्री वाग्लेले आगामी ६ महिनाभित्र गर्नुपर्ने मुख्य सुधार पहिचान गरी ठोस कार्ययोजनाका साथ अघि बढ्ने बताए।





