Nidan Media

बहुमतको अहंकारले सरकार शासकीय अराजकतामा पुगेको गगन थापाको आरोप

काठमाडौँ । कांग्रेसका सभापति गगनकुमार थापाले बहुमतको अहंकारका कारण वर्तमान सरकार शासकीय अराजकतामा पुगेको आरोप लगाएका छन्।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको कार्यशैलीले राज्यका निकायलाई कमजोर बनाएको र नागरिकमा असन्तुष्टि बढ्दै गएको बताए।

कांग्रेसले आन्दोलन चर्काउनेभन्दा सरकारलाई आफ्ना प्रतिबद्धता कार्यान्वयन गराउन दबाब दिने भूमिका खेल्ने उनको भनाइ छ।

थापाले लघुवित्त तथा सहकारी पीडित, शिक्षक, नर्स, चिकित्सकलगायत आन्दोलनरत पक्षसँग सरकारले गरेका सम्झौता कार्यान्वयन नगर्दा नागरिकको राज्यमाथिको भरोसा कमजोर बन्दै गएको बताए।

लोकतन्त्रको आधार विधिको शासन भएकाले कानुनभन्दा माथि कोही पनि हुन नसक्ने उल्लेख गर्दै मन्त्री र सांसदका उत्तेजक अभिव्यक्तिले विधिको शासनलाई चुनौती दिएको पनि उनले बताए।

विधिको शासन, लोकतान्त्रिक मूल्य र जनविश्वासको रक्षा गर्नु कांग्रेसको दायित्व भएको उनले बताए।

सोही कार्यक्रममा सभापति थापाले आगामी स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमध्ये कम्तीमा सय वटामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाउने तयारी भइरहेको बताए।

पार्टीलाई पूर्ण समावेशी बनाउँदै सबै समुदायको समान सहभागिता सुनिश्चित गरिने उल्लेख गर्दै उनले चुनाव जित्नेमात्र होइन, निर्वाचित जनप्रतिनिधिलाई शासन सञ्चालनमा सक्षम बनाउन विशेष प्रशिक्षण सञ्चालन गरिने जानकारी दिए।

यसैगरी सभापति थापाले पार्टीको विशेष महाधिवेशन वैधानिक रहेको जिकिर गर्दै अदालतमा यसको दृढतापूर्वक प्रतिरक्षा गर्ने बताए ।
उनले पार्टीको विधान र प्रक्रियासम्मत रूपमा सम्पन्न विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउन नमिल्ने उल्लेख गरे।

थापाले साउन २४ गते बस्ने केन्द्रिय समितिको बैठकले समसामयिक विषयमा थप निर्णय लिने जानकारी दिए ।

विशेष महाधिवेशनको सन्दर्भ जोड्दै उनले पार्टीका सार्वभौम सदस्यहरूको अधिकार प्रयोग गरेरै उक्त महाधिवेशन गरिएको स्पष्ट पारे।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.