काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान करिब साढे १० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाइओभरमा ठोक्किँदा अन्दाजी ४० वर्षीया एक महिलाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। घाइतेहरूको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यत, मोरङको धनपालथान गाउँपालिका-७ कदमास्थित सडकमा को ३३ प ८९५३ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी ७० वर्षीया चुम्नीदेवी मण्डललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी मण्डललाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यता, महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरमा मधेश प्रदेश ०२-००१ ह ३४९४ नम्बरको विद्युतीय रिक्साले बाटो काट्दै गरेकी करिब ५० वर्षीया चन्द्रकला देवी ठाकुर र करिब ४५ वर्षीया मनतोरी देवी साहलाई ठक्कर दिएको थियो।
दुवै जनालाई उपचारका लागि बर्दिवासस्थित शुभ स्वस्तिक अस्पताल लगिएकोमा चन्द्रकला देवी ठाकुरको उपचारकै क्रममा मृत्यु भएको छ।
यता, धनुषाको जनकपुर उपमहानगरपालिका-८ बजरंग चोकमा बा८५प ४५३१ नम्बरको मोटरसाइकललाई भारत नम्बर बीआर ३० जीबी २३२६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक ५२ वर्षीय विनयकुमार झा गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यता, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ अञ्चलपुरमा लु१७प ५९७२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किँदा चालक बुटवल उपमहानगरपालिका-११ निवासी २६ वर्षीय तिन्कु थापा र पछाडि सवार २४ वर्षीय सुरज सुनुवार घाइते भएका थिए। उपचारका क्रममा चालक थापाको मृत्यु भएको छ भने सुनुवारको उपचार भइरहेको छ।
प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।





