Nidan Media

कास्कीमा बिहान ७ देखि साँझ ७ बजेसम्ममात्र खाना पकाउने ग्यास बिक्री गर्न निर्देशन

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने ग्यासको बिक्री-वितरणलाई व्यवस्थित बनाउन बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र बिक्री गर्न निर्देशन दिएको छ।

बुधबार सूचना जारी गर्दै प्रशासनले पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभावबारे उपभोक्ताबाट गुनासो आएको र रातिको समयमा कालोबजारी तथा अवैध कारोबार भइरहेको सूचना प्राप्त भएकाले यस्तो व्यवस्था गरिएको जनाएको छ।

प्रशासनका अनुसार अघिल्ला वर्षको यही अवधिको मागअनुसार कास्कीमा आवश्यक परिमाणमा ग्यास आपूर्ति भइरहेको छ।

तर १४ दशमलव २ किलोग्राम क्षमताको पूरा सिलिन्डर वितरण शुरू भएपछि देशभर एकैपटक माग बढ्दा आपूर्ति व्यवस्थापनमा केही असहजता देखिएको जनाएको छ।

सूचनाअनुसार ग्यास विक्रेताले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, भाडामा बस्ने विद्यार्थी तथा घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिनुपर्नेछ।

साथै खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र बिक्री-वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रशासनले नेपाल आयल निगम, ग्यास उत्पादक, ग्यास विक्रेता, उद्योगी-व्यवसायी तथा सरोकारवालासँग समन्वय गरेर आपूर्ति व्यवस्थालाई सहज बनाउने काम भइरहेको जनाएको छ।

सूचनाको उल्लङ्घन गर्दै कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई दुःख दिने व्यक्ति वा संस्थामाथि प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.