Nidan Media

पहिरो र बाढीले देशका विभिन्न राजमार्ग प्रभावित, कान्तिलोकपथ र अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौँ। अविरल वर्षासँगै आएको पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार सोमबार बिहान ६ः३० बजेसम्म ललितपुरको कान्तिलोकपथ र सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडक एकतर्फी सञ्चालनमा छन्।

ललितपुरको बागमती गाउँपालिका-३ पाङदुरमा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरोका कारण अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

कोशी प्रदेशमा भोजपुर नगरपालिका-५ बोखिम क्षेत्रमा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। इलामको राजदुवाली र तेह्रथुमको काडे क्षेत्रमा पहिरोले मेची राजमार्ग तथा मध्यपहाडी लोकमार्ग प्रभावित भएका छन्।

यस्तै, मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत नाम्सी नयाँ पुलमा सोमबार बिहान माथिबाट ढुंगा खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार हाल पुरानो पुलबाट सवारी साधन एकतर्फी सञ्चालन गरिएको छ।

पहिरो पन्छाउन डिभिजनको उपकरण परिचालन भइसकेको र थप ढुंगा नखसेमा करिब एकदेखि दुई घण्टाभित्र सडक दुईतर्फी सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सुरक्षाका दृष्टिले पुरानो पुलबाट मात्रै यात्रा गर्न चालकलाई आग्रह गरिएको छ।

यसैबीच, वर्षायामको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्ग र मकवानपुरको हेटौँडा-ठिंगन-बागमती-ललितपुर (कान्तिलोकपथ) सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने व्यवस्था यथावत् रहेको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षाका कारण थप पहिरो र बाढी आउन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.