सिराहा। नेपाल सरकार र सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारबीच आठबुँदे सहमति भएको छ।
बिहीबार मध्यराति औरही गाउँपालिका-२ तुलसीयाहीस्थित मृतकको घर पुगेर गृहमन्त्री सुधन गुरुङले परिवारसँग वार्ता गरेका थिए।
वार्तापछि घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कारबाही, क्षतिपूर्ति उपलब्ध गराउने तथा मृतकका परिवारका सदस्यलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने लगायतका विषयमा सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिए।
सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले हस्ताक्षर गरेका छन्।
सुनसरीको देवानगञ्ज घटनाको विरोधमा साउन १४ गते गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो।
यसैबीच, जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगरपालिका क्षेत्रमा जारी कर्फ्यु हटाएको छ। सुरक्षा अवस्था सामान्य बन्दै गएपछि लहानमा कर्फ्यु हटाइएको प्रशासनले जनाएको छ।
कर्फ्यु हटेसँगै लहानमा सर्वसाधारणको आवतजावत बढेको छ भने दुईपांग्रे र चारपांग्रे सवारीसाधन सञ्चालनमा आएका छन्।
यद्यपि गोलबजार क्षेत्रको सुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य नभएकाले त्यहाँ कर्फ्यु आदेश यथावत राखिएको छ।
सम्भावित हिंसा रोक्न सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको छ भने बजार तथा पसल अझै बन्द रहेका छन्।





