काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र देखिएका चुनौती र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समूहका नेता डा. शशांक कोइरालाले ५ सय ५१ सदस्यीय आयोजक समितिको संयोजनमा भेला आयोजना गर्न लागिएको जानकारी दिए।
उनका अनुसार भेलाको उद्देश्य पार्टीलाई वैचारिक र सांगठनिक रूपमा सुदृढ बनाउनुका साथै समसामयिक राष्ट्रिय राजनीतिक विषयमा साझा धारणा निर्माण गर्नु हो।
डा. कोइरालाले देशमा राजनीतिक अस्थिरता, नागरिक स्वतन्त्रता र मानवअधिकारमाथि चुनौती बढ्दै गएको दाबी गर्दै सुनसरीको देवानगञ्जबाट सुरु भई मधेसका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसाप्रति चिन्ता व्यक्त गरे।
उनले मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार तथा दोषीमाथि कानूनी कारबाही गर्न सरकारसँग माग गरे।
उनले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएकाले सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।
राष्ट्रिय भेलामा पार्टीका वर्तमान तथा पूर्व पदाधिकारी, सांसद, प्रदेश तथा जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि र लोकतान्त्रिक आन्दोलनसँग आबद्ध बुद्धिजीवी सहभागी हुने जनाइएको छ।
डा. शेखर कोइरालाको समर्थनबारे सोधिएको प्रश्नमा डा. शशांक कोइरालाले अभियानप्रति उनको पूर्ण ऐक्यबद्धता रहेको, तर पूर्वनिर्धारित व्यस्तताका कारण कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी दिए।
उनले राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय शक्तिहरूबीच सहकार्य आजको आवश्यकता रहेको उल्लेख गरे।





