काठमाडौं। देशका विभिन्न जिल्लामा पहिरो, बाढी तथा अविरल वर्षाका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्।
नेपाल प्रहरीले शुक्रबार बिहान ८ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न स्थानमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेको जनाएको छ।
प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका-३ पाङ्दुर क्षेत्रमा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका-५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध रहेको छ।
त्यस्तै इलाम नगरपालिका-९ राजदुवामा अविरल वर्षाका कारण मेची राजमार्ग पनि प्रभावित भएको प्रहरीले जनाएको छ।
काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्म साँझ ६ देखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ देखि साँझ ६ बजेसम्म भने परिस्थितिअनुसार सवारी सञ्चालन गरिने व्यवस्था गरिएको छ।
मकवानपुरको हेटौंडा-ठिंगन-बागमती-ललितपुर सडकखण्डअन्तर्गत कान्तिलोकपथ एकतर्फी सञ्चालनमा रहेको छ भने वैकल्पिक मार्ग पनि उपलब्ध रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ चारकिलो र वडा नं. २ कोदारी क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्डमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
प्रहरीले वर्षायामका कारण सडक अवस्था निरन्तर परिवर्तन भइरहेकाले यात्रा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सबैलाई आग्रह गरेको छ।




