Nidan Media

नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा लगातार चौथो हार बेहोरेको छ।

बुधबार उट्रेच्टमा भएको अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग ५७ रनले पराजित हुँदै नेपालले चारै खेल गुमाएको हो।

टस जितेर फिल्डिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई निर्धारित ५० ओभरमा ९ विकेटमा २२५ रनमा सीमित गरेको थियो। जवाफमा नेपाल ४८ ओभरमै १६८ रनमा अलआउट भयो।

नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्ड्सले ५७ र नोह क्रोजले ७० रन बनाए। दुवैले पाँचौं विकेटका लागि ११५ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलतर्फ डोर्याएका थिए।

नेपालका लागि करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ३० रन खर्चेर ४ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले २ तथा हेमन्त धामी र ललित राजवंशीले १-१ विकेट लिए।

ब्याटिङतर्फ नेपालका आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। कप्तान रोहित पौडेलले २६, करण केसीले २३ तथा आरिफ शेखले १८ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।

नेदरल्यान्ड्सका काइल क्लाइनले ३ विकेट लिए भने लोगन भान बिक, रोइलोफ भान डेर मर्वे र ज्याक लिओन क्याचेटले २-२ विकेट लिए।

यससँगै नेपालले नेदरल्यान्ड्स भ्रमणका चारवटै खेल गुमाएको छ। यसअघि दुई खेलमा नामिबिया र एक खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले लिग-२ मा दोस्रो पटक चारै खेल गुमाउँदै ‘क्लिन स्वीप’ हार बेहोरेको हो।

विदेशी भूमिमा नेपालको यो लगातार आठौं पराजय पनि हो। ३२ खेलबाट ११ जित र १९ हारसहित नेपाल २२ अंकका साथ लिग-२ अंकतालिकाको छैटौं स्थानमा यथावत् छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.