Nidan Media

सामाजिक सद्भाव जोगाउन दलहरू एक ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान संवेदनशील परिस्थितिमा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्ने बताएका छन्।

बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बैठक सरकारको समीक्षा गर्न नभई समसामयिक घटनाक्रमबारे राजनीतिक दलका शीर्ष नेताबीच धारणा, अनुभव र सुझाव आदानप्रदान गर्न केन्द्रित रहेको स्पष्ट पारे।

लामिछानेले सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्णिम वाग्ले बैठकमा सहभागी भएको उल्लेख गर्दै सरकार प्रशासनिक र सुरक्षा निकायमार्फत आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताए।

अहिले घटनाको निष्कर्ष निकाल्ने वा सरकारबारे धारणा बनाउने समय नभएको भन्दै उनले आवश्यक विषयमा सरकारले आफ्नै प्रक्रियाबाट जवाफ दिने बताए।

उनले नेपालमा संवेदनशील परिस्थितिमा राजनीतिक दलहरूले साझा धारणा बनाएर सरकारलाई आवश्यक ध्यानाकर्षण गराउने परम्परा रहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिनुपर्ने बताए।

नागरिकको ज्यान गएको घटना गम्भीर भएकाले त्यसको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै लामिछानेले अफवाह र अनुमानका आधारमा निष्कर्षमा पुग्न नहुने बताए। सत्यतथ्य अनुसन्धानबाट बाहिर आएपछि मात्रै जिम्मेवारीका विषयमा बोल्नुपर्ने उनको भनाइ थियो।

लामिछानेले अहिलेको पहिलो प्राथमिकता शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्नु भएको उल्लेख गर्दै आरोप–प्रत्यारोपभन्दा संयमता आवश्यक रहेको बताए। उनले सञ्चारमाध्यमलाई पनि संवेदनशील भएर तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरे।

उनका अनुसार सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेको छ भने सबै राजनीतिक दलको तर्फबाट संयुक्त अपिलसमेत सार्वजनिक गर्ने तयारी गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.