सुनसरी। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत आफ्ना बुवाका लागि उपचार खर्च लिएर अस्पताल जाँदै गरेका एक प्रधानाध्यापकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
मृत्यु हुनेमा पाँचथरको तुम्बेवा गाउँपालिका-१ घर भई हाल झापाको शिवसताक्षी नगरपालिका-८, दुधेस्थित राष्ट्रिय रमणीय माध्यमिक विद्यालयका प्रधानाध्यापक ४९ वर्षीय गिरिराज शेर्मा लिम्बू रहेका छन्।
प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब २ बजे दमकबाट धरानतर्फ आउँदै गरेका लिम्बू सवार मे १२ प २०३ नम्बरको मोटरसाइकल धरान-६ पानबारीस्थित मदन भण्डारी लोकमार्गको एबीसी मार्ट अगाडि अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार उनका ७३ वर्षीय बुवा देउमान शेर्मा प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत थिए। उनी बुवाको उपचार खर्च लिएर अस्पताल पुग्ने क्रममा दुर्घटनामा परेका हुन्।
प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।





