Nidan Media

श्रीमतीलाई साडीको पासो लगाएर मार्न खोज्ने श्रीमान पक्राउ

सर्लाही। सर्लाहीको बागमती नगरपालिका-५ टेकानीस्थित ससुरालीमा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

धनकौल गाउँपालिका-१ शेखौना निवासी २१ वर्षीय बसन्ता बैठा धोबीले सोमबार राति करिब ८ बजे आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरी साडीको पासो लगाएर झुन्ड्याई हत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ।

घटनाका क्रममा बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले घटना देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन्। आफन्तले समयमै पासो फुकालेर चिन्ता देवीको उद्धार गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरी टोलीले घाइतेलाई बागमती मोडेल अस्पताल, कर्मैया पुर्‍याएको थियो।

सामान्य उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो। त्यसपछि थप उपचारका लागि रौतहटको बेटर नेपाल अस्पताल, गरुडा लगिएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न बसन्ता बैठा धोबीलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.