विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा गएराति भएको झडपपछि उत्पन्न परिस्थितिबारे जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वदलीय बैठक बसेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेका अनुसार घटनाबारे अनुसन्धान जारी रहेकाले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ। उनले बैठक जारी रहेकाले शान्ति र सुरक्षा कायम गर्न आवश्यक पहल भइरहेको बताए।
प्रहरीका अनुसार गएराति गाउँमा दुई समूहबीच भएको विवाद उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गर्दै अवस्था शान्त बनाउन प्रयास गरेको थियो।
घटनामा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्। अवस्था थप तनावग्रस्त हुन नदिन प्रभावित क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।
घटनाको कारण र गोली चलेको अवस्थाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





