विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपमा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यू आदेश लागू गरेको छ।
प्रहरीका अनुसार आइतबार राति करिब १०:१५ बजे साउने सोमबारको बोलबम यात्राका क्रममा कोशी ब्यारेजबाट जल लिएर डिजेसहित अघि बढिरहेका हिन्दू धर्मावलम्बी र अर्को समुदायका केही व्यक्तिबीच डिजेको आवाजलाई लिएर विवाद भएको थियो।
सामान्य भनाभनले उग्र रूप लिएपछि दुवै पक्षबीच ढुंगामुढा, लाठी, बाँस र भालासहित झडप भएको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो।
भीड नियन्त्रणका क्रममा प्रहरीले तीन राउन्ड हवाई फायर गरेको र त्यसक्रममा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज-३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए।
उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका सुनसरी प्रहरीका निमित्त प्रमुख डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।
घटनामा नौ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूको न्युरो अस्पताल, विराट नर्सिङ होम, कोशी अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
झडपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक राकेश राईसहित आठ जना तथा सशस्त्र प्रहरीका पाँच जना सुरक्षाकर्मी पनि घाइते भएका छन्।
घटनापछि बसेको जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले हरिनगरा गाउँपालिकाका घुस्की, भुटाहा र कप्तानगञ्ज क्षेत्र तथा देवानगञ्ज बजार र देवानगञ्ज गाउँपालिका-३ अन्तर्गतका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।
प्रशासनले कर्फ्यू अवधिभर आवतजावत, सभा, जुलुस, प्रदर्शन तथा भेला गर्न पूर्ण रूपमा निषेध गरेको छ। आदेश उल्लङ्घन गर्नेविरुद्ध स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कानूनी कारबाही गरिने चेतावनी पनि दिएको छ।




