Nidan Media

दुई यात्रुबाहक बस आपसमा ठोक्किँदा कम्तीमा ३५ जनाको मृत्यु

काठमाडौँ। सिरियाको मध्यपूर्वी मरुभूमि क्षेत्रमा शनिबार दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

सिरियाली सरकारी समाचार संस्था साना का अनुसार स्वास्थ्य मन्त्रालयका एक अधिकारीले दुर्घटनामा ३५ जनाको ज्यान गएको र ३० जना घाइते भएको पुष्टि गरेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार दमास्कस-देइर एजोर राजमार्गमा दुई बस एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो।

गृह मन्त्रालयले दुर्घटनामा आन्तरिक सुरक्षा बलका केही कर्मचारी सवार बस र अर्को सार्वजनिक यात्रुबाहक बस ठोक्किएको जनाएको छ। तर, मृतक र घाइतेमध्ये सुरक्षा बलका कर्मचारी कति थिए भन्ने खुलाइएको छैन।

राष्ट्रिय टेलिभिजनले प्रसारण गरेका दृश्यमा दुर्घटनापछि बसमा आगलागी भएको, राजमार्गभरि भग्नावशेष छरिएको तथा उद्धार कार्य जारी रहेको देखिएको छ।

यसअघि यही महिनाको सुरुतिर दक्षिणी सिरियाको दारा प्रान्तमा साउदी अरबबाट फर्किरहेका तीर्थयात्री बोकेको बस पल्टिँदा पाँच जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए। उक्त दुर्घटनाको कारण तीव्र गति रहेको अनुमान गरिएको थियो।

वर्षौँको गृहयुद्ध र बेवास्ताका कारण सिरियाको सडक तथा अन्य पूर्वाधार जीर्ण बनेका छन्। गत वर्ष पनि उत्तर-पूर्वी सिरियामा बस र तेल ट्याङ्कर ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.