पोखरा । आज आषाढशुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी। सनातन वैदिक परम्पराअनुसार आजका दिन घरघरमा तुलसीको बिरुवा रोपी विशेष पूजाआराधना गरिन्छ।
आजदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) सम्म चार महिनासम्म तुलसीको पूजा गर्ने परम्परा रहेको छ।
आजदेखि भगवान् विष्णु क्षीरसागरमा चार महिनासम्म शयन गर्नुहुने धार्मिक विश्वास भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। यही अवधिलाई चातुर्मास पनि भनिन्छ।
हिन्दू धर्ममा वर्षभर २४ ओटा एकादशी पर्ने भए पनि धेरै श्रद्धालुले हरिशयनी र हरिबोधिनी एकादशीमा विशेष व्रत बस्ने गर्छन्। एकादशीका दिन चामलबाट बनेका परिकार नखाई फलाहार गर्ने परम्परा छ।
धार्मिक महत्वसँगै तुलसीलाई औषधीय गुणले भरिपूर्ण वनस्पतिको रूपमा पनि लिइन्छ। वैज्ञानिक अध्ययनले तुलसीले वातावरण शुद्ध बनाउन तथा केही रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्याउने देखाएका छन्।
वैदिक मान्यताअनुसार कार्तिक शुक्ल एकादशीका दिन तुलसीको दामोदरसँग विधिपूर्वक विवाह गरिएपछि चातुर्मास व्रत समापन गरिन्छ।
हरिशयनी एकादशीका अवसरमा देशभरका विष्णु–नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्दछ।





