Nidan Media

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, फ्लाई दुबई उडानसँगै अन्तर्राष्ट्रिय उडानको ढोका खुल्ने अपेक्षा

पोखरा । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रवर्द्धन गर्न विभिन्न विमानस्थल शुल्कमा छुट दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले २०८५ भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा तथा ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस निर्णयले पोखरा-दुबईसहित अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न र नयाँ वायुसेवा कम्पनी आकर्षित गर्न महत्वपूर्ण आधार तयार भएको बताए।

उनका अनुसार यसले पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ।

फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा-दुबई सीधा उडान शुरू गर्ने तयारी गरिरहेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार उडान तालिका स्वीकृत भइसकेको छ र टिकट बुकिङ पनि खुला गरिएको छ।

दुबईमार्फत युरोप, अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्य पुग्न यात्रुका लागि समय र खर्च दुवै घट्ने अपेक्षा गरिएको छ।

यस उडानबाट विदेशी पर्यटकले पोखरा र आसपासका पर्यटकीय क्षेत्रसम्म सिधै यात्रा गर्न सक्नेछन् भने वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीलाई पनि ठूलो सुविधा पुग्ने विश्वास गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमै फ्लाई दुबईलाई दैनिक दुबई-पोखरा-दुबई उडान सञ्चालनको अनुमति दिएको थियो।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी वायुसेवा कम्पनी आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको थियो।

झण्डै २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडानबाट वञ्चित थियो।

हालसम्म केही छिमेकी मुलुकमा भएका चार्टर उडानबाहेक विमानस्थल मुख्यतः आन्तरिक उडानमै सीमित रहँदै आएको छ।

अब फ्लाई दुबईको नियमित सेवा र सरकारी शुल्क छुटको निर्णयसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले वास्तविक अन्तर्राष्ट्रिय परिचालनको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.