पर्वत। पर्वतको कुश्मा नगरपालिका-९ एकोहोरेपाठास्थित दोबिल्ला-फलेवास सडकखण्डमा शनिबार भएको ट्र्याक्टर दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्माबाट ज्ञादीको साइकलचोकतर्फ जाँदै गरेको ग१त ७२७३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको हो।
दुर्घटनामा ट्र्याक्टर चालक कुश्मा नगरपालिका-७ का २८ वर्षीय सुजन नेपाली र ट्र्याक्टरमा सवार कुश्मा-९ साइकलचोकका १४ वर्षीय शिशिर लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीले घाइतेहरूको उद्धार गरी प्रदेश अस्पताल पर्वत पुर्याएका थिए।
तर उपचारका क्रममा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिए।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





