काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं सांसद खुश्बू ओली सहभागी थिए।
छलफलपछि सांसद ओलीले संविधान संशोधन, किसानलाई मलको उपलब्धता, सुकुमवासी व्यवस्थापन, स्वास्थ्य बीमा तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा विस्तृत छलफल भएको जानकारी दिइन्।
उनका अनुसार प्रधानमन्त्री शाहले सरकारले थालेका कामहरू क्रमशः निष्कर्षमा पुग्ने विश्वास दिलाएका छन्। मल आयातको प्रक्रिया अघि बढिसकेको, स्वास्थ्य बीमा कार्यक्रमका पुराना भुक्तानी समस्याको समाधान गर्दै केही निजी अस्पतालबाट भएको अनियमितता सुधारेर कार्यक्रम पुनः प्रभावकारी बनाउने तयारी भइरहेको प्रधानमन्त्रीको भनाइ रहेको ओलीले बताइन्।
सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्रीले अधिकांश स्थानमा काम सहज रूपमा अघि बढे पनि कीर्तिपुरको होल्डिङ सेन्टरमा केही समस्या देखिएको उल्लेख गर्दै समग्र सुकुमवासीका माग सम्बोधन गर्ने गरी सरकार अघि बढिरहेको बताएका थिए।
संविधान संशोधनका विषयमा पनि प्रधानमन्त्रीले सबै नागरिकका गुनासा समेट्ने उद्देश्यले प्रक्रिया अघि बढाइने स्पष्ट पारेका छन्।
संविधान संशोधनको बहसपत्र तयार पार्ने काम मात्र भइरहेको र संशोधनको सम्पूर्ण जिम्मेवारी एउटै व्यक्तिलाई नदिइएको उनले स्पष्ट पारेको ओलीले जानकारी दिइन्।
भेटका क्रममा राप्रपाले आफ्नो संविधान संशोधनसम्बन्धी धारणा पुनः प्रधानमन्त्रीसमक्ष राख्दै सरकार, राजनीतिक दल र सांसदहरूबीच नियमित संवादको वातावरण बनाउन आग्रह गरेको जनाएको छ।





