काठमाडौँ। मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारले पहल थालेको छ। जनकपुरबाट काठमाडौँ केन्द्रित पैदल यात्रा गरिरहेका पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ पुगेका छन्।
बुद्ध एयरको विमानमार्फत सिमरा विमानस्थल पुगेका गृहमन्त्री गुरुङ त्यहाँबाट सडकमार्ग हुँदै सीधै निजगढ पुगेका थिए।
उनले आन्दोलनरत पीडितहरूसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूको समस्या र मागबारे जानकारी लिएका छन्।
लामो समयदेखि न्यायको माग गर्दै आन्दोलनमा रहेका मिटरब्याज पीडितलाई भेट्न गृहमन्त्री स्वयं मैदानमा पुगेपछि यसलाई सरकारको सक्रिय पहलका रूपमा हेरिएको छ।
छलफलका क्रममा पीडितहरूले मिटरब्याज (सामन्ती) प्रथाको पूर्ण अन्त्य हुनुपर्ने माग गर्दै सरकारसमक्ष छ बुँदे माग प्रस्तुत गरेका छन्।
उनीहरूले फर्जी लिखत खारेज, मिटरब्याज नियन्त्रणका लागि विशेष कानून निर्माण, विशेष न्यायाधिकरण गठन तथा कब्जा गरिएको सम्पत्ति पीडितलाई फिर्ता गराउनुपर्ने माग राखेका छन्।
गृहमन्त्री गुरुङले पीडितका मागप्रति सरकार गम्भीर रहेको बताउँदै मिटरब्याज प्रथालाई कानूनी रूपमा अन्त्य गर्न गृह मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको आश्वासन दिएका छन्।
तर, आन्दोलनरत पीडितहरूले विगतमा पनि सरकारसँग भएका सहमति कार्यान्वयन नभएको स्मरण गराउँदै यसपटक ठोस र लिखित निर्णय नभएसम्म आन्दोलन र काठमाडौँ केन्द्रित पैदल यात्रा नरोकिने अडान दोहोर्याएका छन्।





