विराटनगर । इटहरीमा नेपाल विद्युत् प्राधिकरणको स्कोरपिओ दुर्घटनाग्रस्त हुँदा दुई कर्मचारीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सोमबार राति दुहबी-धरान ३३ केभी प्रसारण लाइनमा आएको समस्या समाधान गर्न मर्मतका लागि खटिएको बा १ ञ १६५१ नम्बरको प्राधिकरणको स्कोरपिओ इटहरी-२० स्थित सेउती पुलबाट करिब २०० मिटर दक्षिणमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा स्कोरपिओ चालक धरान-१३ का ३३ वर्षीय बिर्खबहादुर राई र हेल्पर ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए।
उनीहरूलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते भएका प्राधिकरणका ज्यालादारी कर्मचारी धरान-२० का ३२ वर्षीय पदम राईको प्रतिष्ठानमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ।
नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख हरिराम पोखरेलका अनुसार राति ९ः५४ बजे प्रसारण लाइनमा समस्या देखिएपछि पेट्रोलिङ तथा मर्मतका लागि टोली परिचालन गरिएको थियो। तर गन्तव्यमा पुग्नुअघि नै दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार धरानबाट इटहरीतर्फ आउँदै गरेको स्कोरपिओ राति करिब ११ः४० बजे आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनामा स्कोरपिओ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुमानअनुसार मर्मतका लागि हतारमा गइरहेका बेला तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने बताइएको छ।




