काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा अन्ततः सरकार, काठमाडौँ महानगरपालिका र पीडित परिवारबीच १४ घण्टा लामो वार्तापछि आठ बुँदे सहमति भएको छ। सहमतिसँगै रोकिएको शव परीक्षण प्रक्रिया अघि बढ्ने भएको छ भने पीडित परिवारले शव बुझेर अन्त्येष्टि गर्ने सहमति जनाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तथा पीडित पक्षबीच भएको वार्तापछि सहमति जुटेको हो।
सहमतिअनुसार सरकारले घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। समितिले गठन भएको सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ। साथै गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा कानुनी व्यवस्था, विगतको अभ्यास तथा छानबिन समितिको सिफारिसका आधारमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइनेछ।
घटना भएको दिन घटनास्थलको अग्रभागमा खटिएका काठमाडौँ महानगर प्रहरीका कर्मचारीलाई तत्कालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरपालिकालाई पत्राचार गर्ने तथा छानबिन प्रतिवेदनका आधारमा थप कारबाही अघि बढाउने सहमति पनि भएको छ।
पीडित परिवारको दीर्घकालीन आर्थिक तथा सामाजिक सुरक्षालाई समेत सम्बोधन गर्दै मृतककी श्रीमती एकमाया नेपालीलाई योग्यता र क्षमताका आधारमा महानगरपालिकामा रोजगारी उपलब्ध गराइने भएको छ। मृतककी आश्रित छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्थापन महानगरपालिकाले गर्ने र त्यसका लागि नेपाल सरकारले आवश्यक सहजीकरण गर्ने सहमति भएको छ। साथै राहतस्वरूप उचित आर्थिक सहयोग उपलब्ध गराइने निर्णय पनि आगामी कार्यपालिका बैठकबाट गरिनेछ।
महानगरपालिकाले मृतकको अन्त्येष्टि, काठमाडौँमा हुने काजकिरिया, परिवारको आवतजावत तथा बसोबाससँग सम्बन्धित सम्पूर्ण खर्च व्यहोर्ने जिम्मेवारी पनि लिएको छ।
मुगुको सोरु गाउँपालिका–१ जवलधाराका गणेश नेपालीले गत बिहीबार त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो। घटनापछि देशभर चर्को जनचासो र विरोध देखिएको थियो भने लामो वार्तापछि भएको यो सहमतिले तत्कालका लागि विवाद समाधानतर्फ महत्वपूर्ण कदम मानिएको छ।




