काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सरकार जनताको सेवा गर्न आएको हो, स्टन्टबाजी गर्न नभएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभामा गणेश नेपालीको मृत्यु प्रकरणबारे जानकारी दिँदै उनले विपक्षी दलका सांसदहरूले सदनमा चर्को आवाज उठाएको उल्लेख गर्दै घटनास्थल र अस्पतालमा पीडितको साथमा कति जना पुगेका थिए भन्ने प्रश्न गरे।
उनले जनताको सेवा संसदमा भाषण गरेर मात्र नहुने, पीडितको बीचमा पुगेर उनीहरूको दुःख बुझ्नुपर्ने बताए।
सरकारले पीडित परिवारलाई आवश्यक सहयोग गर्ने र घटनाबारे सम्बन्धित निकायसँग समन्वय गरिरहेको उल्लेख गर्दै त्यसलाई स्टन्टबाजीको संज्ञा दिनु उचित नहुने धारणा राखे।
गृहमन्त्री गुरुङले भने, “घाँटी सुक्नेगरी कराएर मात्रै जनताको सेवा हुँदैन। जनताको बीचमा पुगेर उनीहरूको पीडा बुझ्नुपर्छ। हामी स्टन्टबाजी गर्न होइन, देशको सेवा गर्न सरकारमा आएका हौं।”
उनले सरकार देशलाई दुर्घटनातर्फ जान नदिन जिम्मेवारीपूर्वक काम गरिरहेको दाबी गर्दै विपक्षीले सरकारका कामको अनावश्यक आलोचना गरिरहेको टिप्पणी गरे।
साथै उनले विपक्षी सांसदलाई लक्षित गर्दै “जनताको सेवा गर्छु भनेर मुखले मात्र भनेको ५० वर्ष भइसक्यो, अब काम गरेर देखाउनुपर्छ,” भन्दै जनताका समस्या समाधानमा व्यवहारिक काम आवश्यक रहेको बताए।





