काठमाडौँ । सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभाका पूर्वसदस्य लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।
उच्च अदालत जनकपुरधामले पाँच वर्ष कैद सजाय सुनाएको भोलिपल्ट प्रहरीले उनलाई महोत्तरीबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार कोइरीलाई बिहीबार साँझ महोत्तरीको गौशाला-५ स्थित एमाले पार्टी कार्यालयबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेले उच्च अदालतको फैसलाअनुसार उनलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।
एमालेको मधेस प्रदेश कमिटी सदस्यसमेत रहेका कोइरीलाई पक्राउपछि जिल्ला सदरमुकाम जलेश्वर लगिएको प्रहरीले जनाएको छ।
यसअघि महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते यही मुद्दामा कोइरीलाई सफाइ दिएको थियो। तर उच्च अदालत जनकपुरधामले उक्त फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको हो।
कोइरीविरुद्ध फौज्दारी मुद्दा विचाराधीन रहँदाकै अवस्थामा उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ बाट एमालेका तर्फबाट निर्वाचित भएका थिए। त्यसपछिको निर्वाचनमा भने उनी पराजित भएका थिए।
सशस्त्र प्रहरीका असई थमन विकको २०७२ साल भदौमा मधेस आन्दोलनका क्रममा हत्या भएको थियो। जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर लगिँदै गर्दा बाटोमै केही व्यक्तिले उनलाई एम्बुलेन्सबाट बाहिर निकालेर कुटपिट गरेका थिए। सोही घटनामा उनको मृत्यु भएको थियो।
उच्च अदालतको पछिल्लो फैसलासँगै लामो समयदेखि चर्चामा रहेको थमन विक हत्या प्रकरण फेरि कानुनी र राजनीतिक बहसको केन्द्रमा आएको छ। जिल्ला अदालतको सफाइ फैसला उल्टिँदै दोषी ठहर भएपछि उक्त मुद्दाले न्यायिक प्रक्रियाको अर्को महत्वपूर्ण मोड लिएको छ।





